काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् ।
आइतबार दाङमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि दुई वर्षभित्र सुकुम्बासी, भूमिहीन समस्या समाधान गर्ने बताए ।
उनले भने, ‘हाम्रो सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानून निर्माण र शक्तिशाली आयोग गठन गरी काम सुरु गरेको थियो । तर, जालझेल गरेर हामीलाई हटाइयो ।’
एमाले नेतृत्वको सरकार बने अर्को निर्वाचनमा जनतासामु आउँदा भूमिहीन, सुकुम्बासी देख्नु नपर्ने महासचिव पोखरेलले जिकिर गरे ।
उनले गठबन्धनमा रहेका दलहरुले एमालेविरुद्ध संसद विघटनलाई चुनावी एजेण्डा बनाएकोप्रति असन्तुष्टि पोखे । ‘२०७४ को निर्वाचनमा भोट माग्दा कांग्रेसविरुद्ध वामपन्थीहरुलाई भोट भनी माग्ने र निर्वाचन परिणाम आइसकेपछि कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयास भए । यो जनताको जनमतविपरीत भएकाले ताजा जनादेशमा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको हो’, उनले भने ।
नेता पोखरेलले देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्न आह्वान समेत गरे ।
https://www.nepalpress.com/2022/10/30/250534/